Latest Blog

  1. Home
  2. Blog
  3. Blog Details

डिसएबिलिटी क्विन नेपाल-२०२६’का प्रतियोगीलाई स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना

काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठानको आयोजनामा ‘डिसएबिलिटी क्विन नेपाल–२०२६’का प्रतियोगीलाई लक्षित गरी स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

श्रावण १८ गते काठमाडौंको कालोपुलस्थित शुभम रिसेप्सनमा सम्पन्न कार्यक्रममा स्तन तथा पाठेघरको मुखको क्यान्सरका कारण, जोखिम तत्व, प्रारम्भिक लक्षण, रोकथाम तथा समयमै परीक्षण र उपचारको महत्वबारे जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानकी चीफ प्रोग्राम अफिसर युबिका श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने डा. शमीम अख्तरले क्यान्सरसम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा डिसएबिलिटी क्विन नेपाल २०२६ का प्रतियोगीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा स्तन तथा पाठेघरको मुखको क्यान्सरका जोखिम तत्व, लक्षण, रोकथाम, प्रारम्भिक पहिचान तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममार्फत सहभागीहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन, शरीरमा देखिने असामान्य परिवर्तनलाई बेवास्ता नगर्न तथा आवश्यक समयमा स्वास्थ्य परीक्षण गराउन प्रेरित गरिएको थियो । विशेषगरी स्तन तथा पाठेघरको मुखको क्यान्सरलाई प्रारम्भिक अवस्थामै पहिचान गर्न सके उपचारको सम्भावना उच्च हुने भएकाले नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा क्यान्सरसम्बन्धी विद्यमान भ्रम तथा डर हटाउँदै स्वस्थ जीवनशैली अपनाउन र क्यान्सरको रोकथाम तथा प्रारम्भिक पहिचानमा सबैलाई सक्रिय बनाउनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, कोषाध्यक्ष फुपु तेन्डिङ शेर्पा, मानार्थ सदस्य सुरबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो । त्यस्तै ग्रीन आट्र्स मिडिया प्रा.लि.का निर्देशक अनिला श्रेष्ठको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा डिसएबिलिटी क्विन नेपाल २०२६ का प्रतियोगीहरू रिना पन्त, भावना भाट, निरुता मगर, खेन्दो तामाङ, उमा भुजेल, अर्मिला चौधरी, करिना तामाङ, अमृता कुमारी थारु, सञ्जु मगर, रेश्मा राई, दीपा गुरुङ, कोपिला दुलाल, अम्बिका भण्डारी, टीना बलायर तथा तिला बस्यालको सहभागिता रहेको थियो ।

कार्यक्रमले प्रतियोगीहरूमा क्यान्सरसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै समयमै परीक्षण, प्रारम्भिक पहिचान र स्वस्थ जीवनशैलीमार्फत क्यान्सर रोकथाममा सचेत बन्न महत्वपूर्ण सन्देश दिएको थियो ।

“अपाङ्गता होइन, क्षमता पहिचान गरौं; स्वास्थ्यप्रति सचेत बनौं र क्यान्सरविरुद्ध एकजुट बनौं” भन्ने सन्देशका साथ कार्यक्रम सम्पन्न भएको थियो ।