Latest Blog

  1. Home
  2. Blog
  3. Blog Details

नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा सेजल राजभण्डारी सद्भावना दूत नियुक्त

नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्धारा सद्भावनादूत मिस इको इन्टरनेशनल  नेपाल सेजललाई नियुक्ती 


नेपाल क्यान्सर निवारण प्रतिष्ठान (NCNP) ले एक विशेष समारोहका बीच मिस इको इन्टरनेशनल नेपाल २०२६ (Miss Eco International Nepal - Sejal Rajbhandari) सेजल राजभण्डारीलाई सद्भावना दूत को रूपमा औपचारिक रूपमा नियुक्त गरेको छ। राजधानी काठमाडौंमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले कार्यक्रममा बोल्दै प्रतिष्ठानले अर्बुद क्यान्सर रोगको उपचारात्मक सेवा सर्वसुलभ बनाउने, आधुनिक प्रविधि र प्रतिकारात्मक उपायमार्फत रोगको रोकथाम गर्ने तथा दीर्घकालीन रूपमा क्यान्सर हुन नदिने उपायहरूको खोजी गर्ने आफ्नो मूल उद्देश्य रहेको स्पष्ट पारेको थियो। यस अभियानलाई देशव्यापी रूपमा सशक्त बनाउन समाजका प्रभावशाली व्यक्तित्वहरूको भूमिका महत्वपूर्ण रहने विश्वास समेत व्यक्त गरिएको थियो।


सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेपछि सेजल राजभण्डारीले आफूलाई प्रदान गरिएको जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्दै क्यान्सर विरुद्धको सचेतना अभियानमा सक्रिय रूपमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाइन्। “क्यान्सर जस्तो जटिल रोगबारे जनचेतना फैलाउनु आजको आवश्यकता हो। यस अभियानमा जोडिन पाउनु मेरो लागि गर्वको विषय हो,” उनले भनिन्। साथै, प्रारम्भिक चरणमै रोग पहिचान र समयमै उपचारको महत्त्वबारे जनतालाई सचेत गराउने आफ्नो प्राथमिकता रहने उनले उल्लेख गरिन्।


कार्यक्रम न्हुजः गुठीका अध्यक्ष सुर बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रतिष्ठानका कार्यक्रम प्रमुख युबिका श्रेष्ठ, अभिषा रसाइली, रामकृष्ण गर्तौला, ग्रीन आर्ट्स मिडियाको डाइरेक्टर अनिला श्रेष्ठ लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै, हिपहप सम्राट तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ (एन. एस. के) को विशेष उपस्थिति कार्यक्रमको आकर्षण बनेको थियो।


प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ सञ्चारकर्मी हरि गोपाल प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सञ्चालक प्रविन लाकोलले आफ्नो सशक्त उदघोषण कला प्रस्तुत गर्दै कार्यक्रमलाई थप प्रभावशाली बनाएका थिए।


उक्त कार्यक्रममार्फत नेपाल क्यान्सर निवारण प्रतिष्ठानले क्यान्सरविरुद्धको राष्ट्रिय अभियानलाई अझ सशक्त बनाउने र समाजका विभिन्न तहमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यलाई पुनः प्रतिबद्धता जनाएकोछ।

२०८२ साल चैत्र २५ गते