Latest Blog

  1. Home
  2. Blog
  3. Blog Details

Breast & Cervical Cancer Awareness Program - IIFT Patan

नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्धारा आईआईएफटीका विद्यार्थीहरुलाई स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम

 

काठमाडौं, भदौ १७ नेपाल क्यान्सर निवारण प्रतिष्ठानको आयोजना तथा स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइन (आईआईएफटी), ललितपुर र काठमाडौं क्यान्सर सेन्टर (के.सी.सी) को सहकार्यमा आईआईएफटीका विद्यार्थीहरूका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना तथा रोगथामका उपायबारे विशेष कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरबाट डा. सुनिता धान्छाले विद्यार्थीहरूलाई स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी विस्तृत जानकारी प्रदान गर्नुभएको थियो । उहाँले क्यान्सरका जोखिमका कारण, प्रारम्भिक लक्षण, रोग पहिचान, नियमित स्वास्थ्य परीक्षण तथा समयमै उपचारको महत्वका विषयमा विद्यार्थीहरूलाई जानकारी गराउनुभयो ।

विशेषगरी स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि आफ्नो शरीरमा देखिने असामान्य परिवर्तनप्रति सचेत हुनुपर्ने तथा आवश्यकताअनुसार स्वास्थ्य परीक्षण गराउनुपर्नेमा डा. धान्छाले जोड दिनुभयो । त्यस्तै, पाठेघरको मुखको क्यान्सरबाट बच्न नियमित स्क्रिनिङ, एच.पी.भी. संक्रमणबाट बच्ने उपाय तथा समयमै परीक्षण गराउनु महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरूले क्यान्सरसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । डा. धान्छाले विद्यार्थीहरूका प्रश्नहरूको जवाफ दिँदै क्यान्सरसम्बन्धी सही जानकारी र जनचेतना नै रोगको रोकथाम तथा प्रारम्भिक पहिचानका लागि महत्वपूर्ण आधार भएको बताउनुभयो ।

कार्यक्रमको अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका तर्फबाट आईआईएफटीका सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, आईआईएफटीका निर्देशक सनी सुब्बा तथा सचेतना कक्षा सञ्चालन गर्नुभएकी डा. सुनिता धान्छालाई उहाँहरूको योगदानको सम्मानस्वरूप नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरु निक्की शाही, रेनु थापा, बिनिता कोइराला, अनिशा कालिकोटे, सन्ध्या देउवा, मुना विश्वकर्मा, प्रतिभा कुमारी सुधा, शकुन शर्मा, राधिका कुमारी चौधरी, सुमी मगर, देवी कुमारी घलान, दिया केसी, रेश्मा नेपाली, नसला शाक्य, आशा यादव, अमृता शर्मा, जगत मगर, सुनिता थापा तथा आईआईएफटीका निर्देशक सनी सुब्बा, एलिसा राई लगायत नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, कोषाध्यक्ष फुपु तेन्जिङ शेपा, न्हुज ः गुठीका अध्यक्ष सुर बहादुर श्रेष्ठ प्रमुख कार्यक्रम अधिकृत युबिका श्रेष्ठ, कार्यालय सहायक अभिषा रसाइलीको उपस्थिति रहेको थियो । त्यसैगरी काठमाडौं क्यान्सर सेन्टरबाट प्रशासनिय प्रमुख बर्षा कोइराला, सुवास खड्काको उपस्थिति रहेको थियो ।

त्यसैगरी, कार्यक्रम सफल बनाउन सहकार्य गरेको काठमाडौं क्यान्सर सेन्टरलाई पनि नेपाल क्यान्सर निवारण प्रतिष्ठानका तर्फबाट प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

नेपाल क्यान्सर निवारण प्रतिष्ठानले युवा तथा विद्यार्थीहरूमा क्यान्सरसम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्दै रोगको रोकथाम, प्रारम्भिक पहिचान र समयमै उपचारका लागि जनचेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । आईआईएफटीका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस सचेतना कक्षाले विद्यार्थीहरूलाई आफ्नो स्वास्थ्यप्रति थप जिम्मेवार र सचेत बन्न प्रेरित गरेको आयोजकको भनाइ छ ।