Breast & Cervical Cancer Awareness Program - Miss & Mrs. Universal 2026
‘मिस एन्ड मिसेस युनिभर्सल-२०२६’ सिजन-५ का प्रतियोगीलाई स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जनचेतना
काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्पार्कल इन्टरटेनमेन्टद्वारा मिस एन्ड मिसेस युनिभर्सल २०२६ सिजन–५ का प्रतियोगीहरूलाई लक्षित गरी स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । मिस एन्ड मिसेस युनिभर्सलको आयोजक संस्थाको समन्वयमा यो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. समिम अख्तरद्धारा स्तन तथा पाठेघरको मुखको क्यान्सरका कारण, जोखिमका तत्व, प्रारम्भिक लक्षण, रोकथामका उपाय तथा समयमै गरिने परीक्षण र उपचारका विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो । क्यान्सरलाई प्रारम्भिक चरणमै पहिचान गर्न सकेमा उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक स्क्रिनिङलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो ।
विशेषगरी महिलामा देखिने स्तन तथा पाठेघरको मुखको क्यान्सरबाट बच्न स्वस्थ जीवनशैली अपनाउने, शरीरमा देखिने असामान्य परिवर्तनलाई बेवास्ता नगर्ने तथा शंकास्पद लक्षण देखिएमा समयमै स्वास्थ्यकर्मीको परामर्श लिनुपर्ने विषयमा समेत जानकारी दिइएको थियो ।
कार्यक्रममा मिस एन्ड मिसेस युनिभर्सल २०२६ सिजन–५ का प्रतियोगीहरू अनिता पाण्डे, अनुसुइया श्रेष्ठ, बिनु बस्नेत, गङ्गा कार्की, मनसरा राई, मीरा क्षेत्री, मेघा शर्मा, पवित्र विष्ट, प्रकृति लामा, पुजा वि.क., रोजी थापा, समिता श्रेष्ठ, सरला श्रेष्ठ, सौर्य सरला श्रेष्ठ, सीता पोखरेल, शान्ता राई, सृष्टि ऐर, तथा आम टेलिभिजनका दोलेन्द्र थापा, स्पार्कल इन्टरटेनमेन्टका अध्यक्ष प्रेम बहादुर कार्की, स्पार्कल इन्टरटेनमेन्टका सि.ई. ओ. नीतु श्रेष्ठ, कोरियोग्राफर रोजिन शाक्य लगायत नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, कार्यक्रमका प्रमुख युबिका श्रेष्ठ, कार्यालय सहायक अभिषा रसाइली, फोटोग्राफर राम कृष्ण गर्तौलाको उपस्थिति रहेको थियो ।
प्रतियोगिताका सहभागीहरूले पनि महिलाको स्वास्थ्य र क्यान्सरसम्बन्धी जनचेतना समाजमा फैलाउन आफूहरूले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सौन्दर्य प्रतियोगितालाई केवल मनोरञ्जन र व्यक्तित्व प्रदर्शनमा सीमित नराखी सामाजिक उत्तरदायित्व तथा स्वास्थ्य सचेतनासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
नेपाल क्यान्सर निवारण प्रतिष्ठानले क्यान्सरको रोकथाम, प्रारम्भिक पहिचान तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न समुदाय, संस्था तथा अभियानसँग सहकार्य गर्दै आएको छ । यस कार्यक्रमले विशेषगरी युवा पुस्तामाझ स्तन तथा पाठेघरको मुखको क्यान्सरबारे सही जानकारी फैलाउन तथा महिलालाई आफ्नो स्वास्थ्यप्रति थप सचेत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।